नियम २१
ग्यारिजन समूह सम्बन्धी
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ग्यारिजन समूहको पदमा नेपाली सेनाको जुनसुकै सेवाको पदबाट निवृत्तभरण वा उपदान पाउने गरी अवकाश प्राप्त गरेका भूतपूर्व सैनिकलाई अवकास प्राप्त गरेको समानस्तरको पदमा नियुक्त गरी पदपूर्ति गर्न सकिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट कसूरदार ठहरी नेपाली सेनाको सेवाबाट हटाइएको वा बर्खास्त गरिएको व्यक्तिलाई ग्यारिजन समूहमा नियुक्ति गरिने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम ग्यारिजन समूहको रिक्त पदमा नियुक्तिको लागि योग्य उम्मेदवार छनौट गरी सिफारिस गर्न जङ्गी अड्डाले छनौट समिति गठन गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको छनौट समितिले सिफारिस गरेको उम्मेदवारलाई अधिकृतको हकमा मन्त्रालय र अन्य पदको हकमा कार्यरथीले नियुक्ति गर्नेछ ।
(५) ग्यारिजन समूहमा नियुक्ति हुन देहायको पदमा देहायको उमेर ननाघेको हुनु पर्नेछः–
(क) महासेनानी –पचपन्न वर्ष
(ख) प्रमुख सेनानी –चौवन्न वर्ष
(ग) सेनानी –त्रिपन्न वर्ष
(घ) सहसेनानी –बाउन्न वर्ष
(ङ) उपसेनानी –एकाउन्न वर्ष
(च) सहायक सेनानी –पचास वर्ष
(छ) सुबेदार –पचास वर्ष
(ज) जमदार –उनन्पचास वर्ष
(झ) हुद्दा –अठ्चालीस वर्ष
(ञ) अमल्दार –सतचालीस वर्ष
(ट) प्युठ –छयालीस वर्ष
(ठ) सिपाही –पैतालीस वर्ष
(ड) फलोअर्स –त्रिपन्न वर्ष
(६) जङ्गी अड्डाले आवश्यकता अनुसार अन्य सेवाका सैनिकलाई निश्चित समयका लागि ग्यारिजन समूहमा काजमा खटाउन सक्नेछ ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ग्यारिजन समूहको बढुवा, बढुवाको लागि उम्मेदवार हुन आवश्यक पर्ने न्यूनत्तम सेवा अवधि र तालिम नेपाली सेनाको साधारण सेवाको समान तहको सैनिक सरह र अधिकृतको उमेरको हद तथा पदावधि ऐनको
अनुसूची–३ को प्राविधिक तर्फको समान तहको अधिकृत सरह हुनेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्युठ, अमल्दार, हुद्दा, जमदार र सुवेदार पदमा बढुवाको लागि उम्मेदवार हुन आवश्यक पर्ने सेवा अवधि सिपाही पदमा क्रमशः दुई, चार, सात, नौ र एघार वर्ष पुगेको र उमेरको हद अधिकृत बाहेक फलोअर्स र प्रमुख
सुबेदारको हकमा पचपन्न वर्ष र अन्यको हकमा चौवन्न वर्ष हुनेछ ।
(९) ग्यारिजन समूहको पदपूर्ति सम्बन्धी अन्य व्यवस्था नेपाली सेनाले तोके बमोजिम हुनेछ।
(१०) ग्यारिजन समूहमा नियुक्त भएको व्यक्तिले नियुक्ति हुनु पूर्व नेपाली सेनामा रही सेवा गरेको अवधि समेत निवृत्तभरण प्रयोजनको लागि निजको सेवा अवधिमा गणना गरिनेछ ।
(११) ग्यारिजन समूहमा नियुक्त भई निवृत्तभरण पाउने सैनिक व्यक्तिले पहिले सेवाबाट अवकाश हुँदा औषधि उपचार बापतको रकम नलिएको भए औषधि उपचार बापतको पूरा रकम पाउनेछ । औषधि उपचार बापतको रकम लिएको भए पहिला लिएको रकम कट्टा गरी बाँकी हुन आउने रकम मात्र पाउनेछ ।
(१२) नेपाली सेनाको कुनै पदमा उपदान लिएको व्यक्ति ग्यारिजन समूहमा नियुक्त भएमा निजले पहिला लिएको उपदान बापतको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको सेवा अवधि यस नियम बमोजिमको हालको पदमा गणना गरिनेछ ।
(१३) ग्यारिजन समूहमा नियुक्त भएको सैनिकले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोड्दा निवृत्तभरण पाउने अवधि पुग्ने रहेछ भने निवृत्तभरण पाउनेछ ।
(१४) निवृत्तभरण पाउने गरी सेवा निवृत्त सैनिक व्यक्ति ग्यारिजन समूहको कुनै पदमा नियुक्त भएमा सो पदमा रहेसम्म निवृत्तभरण पाउने छैन ।